बागमती प्रोस्कूनको दोश्रो वार्षिक साधारण सभा भव्यतापूर्वक सम्पन्न !!

  • Bagmati PROSCUN Second AGM
  • 1 year ago, Dec 19, 2022
  • Kathmandu
बागमती प्रोस्कूनको दोश्रो वार्षिक साधारण सभा भव्यतापूर्वक सम्पन्न !!

काठमाडौं,  २ पौष ।

बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि. (बागमती प्रोस्कून)को दोस्रो वार्षिक साधारण सभा एक भव्य समारोहका बीच सम्पन्न भएको छ । कार्यक्रम यहि पौष २ गते शनिबार काठमाडौं नयाँ बानेश्वर स्थित अर्पण बैङ्क्वैटको हलमा संघका अध्यक्ष श्री उद्धव सापकोटाको अध्यक्षता सम्पन्न भएको हो ।

 

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका अध्यक्ष श्री मिनराज कँडेल ज्यूले पानसमा बत्ती बालेर  उद्धाटन भएको उक्त कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक एवं राष्ट्रिय सहकारी बैंक लि.का अध्यक्ष श्री के.बि. उप्रेती, बागमती प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष श्री नारायण प्रसाद देवकोटा, बागमती प्रदेश भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका रजिष्ट्रार श्री नारायणप्रसाद ज्ञवालीको विशिष्ट आतिथ्यता रहेको थियो ।  कार्यक्रममा सहकारी क्षेत्रका राष्ट्रिय एवं प्रदेशगत विभिन्न संघबाट नेतृत्व गर्नुभएका सहकारी अभियान्ताहरु अतिथिको रुपमा उपस्थित हुनुभएको थियो । त्यसैगरी सदस्य संघसंस्थाबाट २५० भन्दा बढी प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

 

बागमती प्रोस्कूनका वरिष्ठ उपाध्यक्ष श्री प्रकाश श्रेष्ठले कार्यक्रममा स्वागत मन्तव्य राख्दै वर्तमान वित्तीय संकटको अवस्थामा बचत तथा ऋण सहकारी संघहरुको भूमिकाबारे चर्चा गर्नुभएको थियो । कार्यक्रममा बागमती प्रोस्कूनका महासचिव जिवसराज खड्काले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष २०७९/०८० को प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । सञ्चालक समितिका सदस्य इन्द्र घिमिरेले आर्थिक वर्ष २०७८/०७९ को आर्थिक प्रतिवेदन र आर्थिक वर्ष २०७९/०८० को प्रस्तावित बजेट साधारण सभा समक्ष पेश गर्नुभएको थियो भने लेखा सुपरिवेक्षण समिति सदस्य रमेश श्रेष्ठले उक्त समितिको प्रतिवेदन पेश गर्नुभएको थियो ।

 

शुभकामना मन्तव्यको क्रममा प्रमुख अतिथि एवं राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलले अहिले नेपाल एवं विश्वकै सहकारी अभियान तरलता संकट, आर्थिक मन्दि, विभिन्न प्रकोप एवं नीतिगत अस्थिरताको मारमा परेको उल्लेख गर्दै यो चुनौतीको सामना गर्न नेपालका शीर्ष नेतृत्वकर्ता संघहरु गतिशील रहेको र निकट भविष्यमै सकारात्मक निकास दिने विश्वास दिलाउनुभएको थियो ।  राष्ट्रिय सहकारी महासंघका सञ्चालक एवं राष्ट्रिय सहकारी बैंक लि.का अध्यक्ष श्री के.बि. उप्रेतीले नेपालका वित्तीय सहकारीले भोगिरहेको संकट निवारणका लागि सम्बन्धित सबैको ऐक्यवद्धताको आवश्यकता औंल्याउँदै आफ्नो तर्फबाट एवं आफू नेतृत्वमा रहेको संघको तर्फबाट पूर्ण सहयोग र सहकार्यको लागि प्रतिवद्ध रहेको कुरा प्रष्ट्याउनुभएको थियो । अन्य सहभागी वक्ताहरुले समेत सहकारी अभियानको वर्तमान अवस्था, यसको सुदृढीकरण र सशक्तीकरणको आवश्यकता र सञ्जाल सहकार्यको बारे आ-आफ्नो विचार र सुझाव प्रस्तुत गर्नुभएको थियो ।

 

दोश्रो वार्षिक साधारण सभाको अवसरमा बागमती प्रोस्कूनको सम्मान नीति बमोजिम यो वर्ष सम्मानित हुने व्यक्ति तथा संघसंस्थाहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो । गत स्थानिय निर्वाचन तथा संघको आन्तरिक सुशासनका कारण रिक्त पाँच पदमा सभाले उपनिर्वाचन गरी महिला उपाध्यक्ष पदमा श्री कल्पना श्रेष्ठ, कोषाध्यक्ष पदमा श्री केशव दंगाल; सदस्यहरुमा क्रमाश: तारानाथ सापकोटा र  कृष्णप्रसाद सुवेदी एवं लेखा सुपरिवेक्षण समिति संयोजकमा श्री देव प्रसाद त्रिपाठी निर्विरोध निर्वाचित हुनुभएको थियो । सोही समारोहमा नवनिर्वाचितहरुलाई निर्वाचन समितिका संयोजक श्री हरिशरण दाहालले  सपथ ग्रहण गराई प्रमाण पत्र हस्तान्तरण गर्नुभएको थियो ।

 

 

कार्यक्रम समापनको क्रममा सभाका सभापति तथा बागमती प्रोस्कूनका अध्यक्ष उद्धव सापकोटाले धन्यवाद एवं बधाई ज्ञापन सहित बागमती प्रोस्कूनको स्थापनाकालदेखि अहिलेसम्मका चुनौती, कठिनाई र साकोस अभियानमा बागमती प्रोस्कूनले खेलेको सकारात्मक भूमिकाबारे प्रष्ट पार्नुभएको थियो । वहाँले संघले आगामी दिनमा समेत साकोस अभियानको सशक्तीकरणका लागि निरन्तर बहस पैरवी र सञ्जाल सहकार्यलाई निरन्तरता दिने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको थियो ।

Trending News