बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.(बागमती प्रोस्कून) को आयोजना साथै ललितपुर महानगरपालिका आर्थिक विकास महाशाखाको साझेदारीमा सञ्चालित कोशिस कार्यक्रम अन्तर्गतको पाँचौ समूहमा आवद्ध सहकारी संस्थाहरुको सञ्चालक र कर्मचारीको क्षमता अभिबृद्धि गराउने उद्धेश्य स्वरुप मिति २०८३ बैशाख २७ गतेदेखि २९ गतेसम्म काठमाडौको मिनभवन स्थीत बागमती प्रोस्कूनको सेवाकार्यालयको सभाहलमा सञ्चालित तीन दिने संगठनात्मक विकास तालिम सम्पन्न भएको छ ।
बागमती प्रोस्कूनका अध्यक्ष श्री उद्धव सापकोटाको अध्यक्षता, ललितपुर महानगरपालिका सहकारी व्यवस्थापन महाशाखा प्रमुख श्री दयाराम खत्रीको प्रमुख आतिथ्यतामा शुभारम्भ भएको तालिम कार्यक्रममा बागमती प्रोस्कूनको सञ्चालक सदस्य श्री शान्तलक्ष्मी खड्गीले उपस्थित सम्पूर्णलाई तालिम कार्यक्रमको औचित्यता र उपदेयतामाथि प्रकाश पार्दै स्वागत मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा बागमती प्रोस्कूनका प्रमुख कार्यकारी अधिकृत केशवप्रसाद दाहालले सहकारी संस्था सञ्चालन गर्ने जिम्मेवार पक्षले ऐन कानुनको विषयमा जानकार भएर संस्था सञ्चालन गर्नुपेर्ने साथै अहिलेको अध्यादेश मार्फत सहकारी ऐनमा गरिएको परिवर्तनको विषय र यसले संस्थाको कारोवारमा र क्रियाकलापमा पार्ने प्रभावका विषयमा सहभागी सम्पूर्णलाई जानकारी प्रदान गर्नुभएको थियो भने बागमती प्रोस्कूनका तालिम अनुसन्धान तथा विकास विभाग प्रमुख विमला पुडासैनीले कार्यक्रम सञ्चालन र तीनदिनसम्म सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा ७ वटा सहकारीहरुवाट सञ्चालक र व्यवस्थापनका कर्मचारीहरु गरी २० जनाको सहभागिता रहेको थियो ।
तालिमको समापनमा सत्रमा बागमती प्रोस्कूनका सचिव श्री ठाकुर प्रसाद बास्कोटाको अध्यक्षता,ललितपुर महागनरपालिका आर्थिक विकास समिति संयोजक श्री रविन्द्र महर्जनको प्रमुख आतिथ्यता साथै सञ्चालक सदस्य श्री शान्तलक्ष्मी खड्गीको उपस्थितीमा सहभागि सम्पूर्णलाई प्रमाणपत्र प्रदान गर्दै कार्यक्रम समापन गरिएको थियो ।