Events

News

कोशिस नवौं समूहको दोश्रो WE CAN कार्यशाला सम्पन्न

  • Bishal Timalsina
  • Aug 07, 2026 (3 weeks ago)
कोशिस नवौं समूहको दोश्रो WE CAN कार्यशाला सम्पन्न
बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि. (बामगती प्रोस्कून) ले विकास गरेको साकोस स्तरीकरण कार्यक्रम कोशिसमा आवद्ध नवौं समूहका ११ वटा सहकारी संस्थाहरुको दोश्रो WE CAN कार्यशाला इन्द्रसरोवर गाउकार्यपालिकाको सभाहल कुलेखानी मकवानपुरमा मिति २०८३/०४/२१ गते सम्पन्न भएको छ ।
बागमती प्रोस्कूनको आयोजना र इन्द्रसरोवर गाउँपालिकाको साझेदारीमा समूहमा आवद्ध ११ वटा सहकारी सस्थाहरुबाट २८ जनाको सहभागितामा सम्पन्न कार्यक्रममा बागमती प्रोस्कूनका अध्यक्ष श्री उद्धव सापकोटाको अध्यक्षता र इन्द्रसरोवर गाउँपालिकाका उपाध्यक्ष श्री उमा कुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रममा बागमती प्रोस्कूनका प्रमुख कार्यकारी अधिकृत श्री केशबप्रसाद दाहाल, इन्द्रसरोवर गाउपालिका योजना शाखाका श्री हिरालाल बलामी, इन्द्रसरोवर सहकारी समन्वय संजालका अध्यक्ष श्री धनराज महर्जनको उपस्थिति रहेको थियो । कार्यक्रममा इन्द्रसरोवर गाउपालिका योजना शाखाका श्री हिरालाल बलामीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन बागमती प्रोस्कूनका सदस्य सेवा अधिकृत श्री किशोर पौडेलले गर्नुभएको थियो ।
कार्यक्रमको उद्धघाटन सत्रमा प्रमुख अतिथि इन्द्रसरोवर गाउपालिका उपाध्यक्ष उमा कुमारी लामाले सहकारी संस्थामा सुशासन र दिगोपनाको लागि कोशिस कार्यक्रम महत्वपूर्ण रहेको हुँदा यसलाई निरन्तर अगाडी बढाउन पालिका प्रतिबद्ध रहेको जनाउदै आवद्ध संस्थाहरुले पनि कार्यक्रम बाट प्राप्त सुझावहरुको अक्षरस पालना गर्दै जानुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । उद्घाटन सत्र को समापन मा बोल्दै बागमती प्रोस्कूनका अध्यक्ष उद्धव सापकोटाले सहकारी संस्था संचालनमा ऐन,कानुन, नियामकीय निर्देशनहरुको पूर्ण पालना गरेर जानुपर्ने धारणा राख्दै इन्द्रसरोवर गाउँपालिकाले स्तरीकरण कार्यक्रम कोशिसमा आवद्ध गराएर आफ्नो नियमन क्षेत्र भित्रका सहकारी संस्थाहरुको दिगोपनाको सोच राखेको हुँदा कोशिस बाट प्राप्त सीप र सिकाईलाई व्यवहारमा लागु गर्नका लागि सम्पूर्ण संस्थाका सहभागीहरुलाई अनुरोध गर्नु भएको थियो ।
कार्यक्रममा नयाँ विषयवस्तुमा रहेर अनुशिक्षण गर्ने परम्परा अनुसार बागमती प्रोस्कूनका प्रमुख कार्यकारी अधिकृत केशबप्रसाद दाहालले “जीवनको अर्थ र कामको शक्ति” विषयमा अनुशिक्षण गराउनु भएको थियो । सो प्रस्तुती मार्फत शक्तिशाली व्यवस्थापनका तीन सुत्रहरु “मानव जीवनको उद्देश्य”, “काम र मस्तिष्क विज्ञान” तथा “काम र खुशी” को सम्बन्धलाई चर्चा गरिएको थियो ।
सो पश्चात समूहमा आवद्ध ११ वटा सहकारी संस्थाहरु मध्ये ८ वटा ले संघले उपलब्ध गराएको प्रस्तुतीकरणको ढाँचामा आधारित रही विगत ३ महिनाको प्रगति प्रस्तुत गर्नु भएको थियो भने ३ वटा संस्थाहरुले संस्थाको हालसम्मको वित्तीय अवस्था र गरिरहेका गतिविधिको बारेमा मौखिक प्रस्तुती गर्नुभएको थियो। संस्थाहरुले गर्नु भएको प्रस्तुतीकरण उपर बागमती प्रोस्कूनका सदस्य सेवा अधिकृत किशोर पौडेलले प्राविधिक सुझाव सहित पृष्ठपोषण गर्नु भएको थियो ।
यस समुहको आगामी तेश्रो WE CAN कार्यशाला मिति २०८३ कार्तिक १८ गते बुधबार आयोजना गर्ने निर्णय सहित कार्यक्रम सम्पन्न भएको थियो ।

Other News

Affiliations