बागमती प्रोस्कूनले सञ्चालन गरेको साकोस स्तरीकरण कार्यक्रम कोशिसमा आवद्ध पहिलो समूहका संस्थाहरुको १४ औं WE CAN कार्यशाला प्रोभिजन साकोसको आयोजनामा मिति २०८३/०५/१३ गते शनिबार काठमाडौं, नयाँबानेश्वर स्थित Alcove Restaurant मा सम्पन्न भएको छ ।
बागमती प्रोस्कूनको प्राविधिक सहयोगमा पहिलो समूहका १० वटा साकोसहरुको सहभागितामा सम्पन्न कार्यक्रमको अध्यक्षता प्रोभिजन साकोसका अध्यक्ष श्री कृष्ण चन्द्र आचार्यले गर्नुभएको थियो भने बागमती प्रोस्कूनका अध्यक्ष श्री उद्धव सापकोटाका प्रमुख आतिथ्यता तथा जिल्ला बचत संघका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठको आतिथ्यता रहेको थियो । कार्यक्रम सञ्चालन सस्थाका सचिव पुण्य प्रसाद गौतमले गर्नुभएको थियो ।
सहकारी संस्थाहरुको दिगो विकास र प्रभावकारी सदस्य सेवा एवम् सुरक्षित कोरावार गर्नका लागि विकास गरिएको कार्यक्रममा संघले नविनतम विषयमा अनुशिक्षण गर्ने अभ्यास अनुसार कार्यक्रममा बागमती प्रोस्कूनका प्रमुख कार्यकारी अधिकृत श्री केशवप्रसाद दाहालले नयाँ विषयवस्तुमा आधारित “जीवनको अर्थ र कामको शक्ति” विषयमा प्रभावकारी अनुशिक्षण गराउनुभएको थियो । सो प्रस्तुतिमार्फत शक्तिशाली व्यवस्थापनका तीन सूत्रहरू “मानव जीवनको उद्देश्य” “काम र मस्तिष्क विज्ञान” तथा “काम र खुशी” बीचको सम्बन्धका बारेमा महत्वपूर्ण अनुशिक्षण गर्नुभएको थियो ।
कार्यक्रममा सहभागी १० वटै सहकारी संस्थाले कोशिसको सूचकमा आधारित रही सहकारी संस्थाको अवस्था र प्रगति प्रस्तुति गर्नुभएको कार्यक्रममा सदस्य सुदृढिकरण तथा सशक्तिकरण विभाग प्रमुख सुदर्शन दाहालले प्रस्तुतिकरणउपर पृष्ठपोषण सहित सहजीकरण गर्नुभएको थियो ।
कार्यशालाले आगामी पंन्ध्रौ WE CAN कार्यशाला चक्रेश्वर प्रतिभा साकोसको आयोजनामा मिति २०८३ मंसिर १२ गते शनिवार आयोजना गर्ने निर्णय गर्दै सम्पन्न गरेको छ ।