बागमती प्रोस्कूनले सञ्चालन गरेको साकोस स्तरीकरण कार्यक्रम कोशिसमा आबद्ध दशौं समूहको पहिलो WE CAN कार्यशाला मिति २०८३ आषाढ ७ गते आइतबार होटेल सिन्धुली इन कमलामाई, सिन्धुलीको सभाहलमा सम्पन्न भएको छ ।
बागमती प्रोस्कूनको आयोजना र कमलामाई नगरपालिकाको साझेदारीमा समूहमा आवद्ध ७ वटा सहकारी सस्थाहरुको सहभागितामा सम्पन्न कार्यक्रमको अध्यक्षता बागमती प्रोस्कूनका संचालक सदस्य श्री कृष्णहरी कोइरालाले गर्नुभएको थियो भने कमलामाई नगरपालिकाका भूमि व्यवस्था सहकारी शाखा प्रमुख श्री मुकेश तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम सञ्चालन संघका तालिम अनुसन्धान तथा विकास विभाग प्रमुख विमला पुडासैनीले गर्नुभएको थियो ।
सहकारी संस्थाहरुको दिगो विकास र प्रभावकारी सदस्य सेवा एवम् सुरक्षित कारोबार गर्नका लागि विकास गरिएको कार्यक्रममा संघले नविनतम विषयमा अनुशिक्षण गर्ने अभ्यास अनुसार संघका तालिम अनुसन्धान तथा विकास विभागका प्रमुख पुडासैनीले संस्थाका अभिलेखहरुको पहिचान, वर्गिकरण, जिम्मेवारी र व्यवस्थापन गर्ने सीप अभिबृद्धि गर्ने उद्देश्य स्वरुप प्रतिवेदन तथा अभिलेखहरुको दस्तावेजीकरण (Documentation and Reporting) सँग सम्वन्धित रही अनुशिक्षण गर्नु भएको थियो ।
कार्यक्रममा सहभागी ७ वटा मध्ये ६ वटा सहकारी संस्थाले आफ्नो सहकारी संस्थाको अवस्थाको विषयमा कोशिस कार्यक्रमको सूचकको आधारमा प्रस्तुतीकरण गर्नु भएको थियो । संस्थाहरुले गरेको प्रस्तुतीकरणमा विभागिय प्रमुख पुडासैनीले पृष्ठपोषण सहित सहजीकरण गर्नु भएको थियो । उक्त कार्यक्रममा कमलामाई नगरपालिकाका भूमि व्यवस्था सहकारी शाखा प्रमुख श्री मुकेश तामाङको पूर्ण सयम कार्यक्रममा सहभागिता रहेको साथै कार्यक्रमको विच विचमा प्रत्येक संस्थालाई निर्देशनात्मक सुझाव प्रदान गर्ने समेत गर्नुभएको थियो ।
कार्यशालाले आगामी दोश्रो कार्यशाला संघको आयोजनामा २०८३ आश्विन ११ गते आईतबार अयोजना गर्ने निर्णय गर्दै सम्पन्न गरेको छ ।