बागमती प्रोस्कूनले सञ्चालन गरेको साकोस स्तरीकरण कार्यक्रम कोशिसमा आवद्ध सातौ समूहका संस्थाहरुको दोश्रो WE CAN कार्यशाला ज्योती महिला साकोसको आयोजना तथा बागमती प्रोस्कूनको प्राविधिक सहयोगमा सुनकोसी गाँउपालिका वडा नं. ६ वडा कार्यालयको सभाहलमा मिति २०८३ आश्विन १९ गते सोमवार सम्पन्न भएको छ ।
ज्योती महिला साकोसका अध्यक्ष श्री उमा खड्काको अध्यक्षता रहेको उक्त कार्यशालामा बागमती प्रोस्कूनका सञ्चालक सदस्य श्री जगन्नाथ दाहालको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रमको सञ्चालन आयोजक साकोसका फिल्ड कर्मचारी दुर्गा बहादुर दर्लामीले गर्नुभएको थियो । कार्यक्रममा ९ वटा सहकारी सस्थाबाट ३८ जना सहभागीहरुको सहभागीता रहेको थियो ।
सहकारी संस्थाहरुको दिगो विकास र प्रभावकारी सदस्य सेवा एवम् सुरक्षित कोरावार गर्नका लागि विकास गरिएको कार्यक्रममा संघले नविनतम विषयमा अनुशिक्षण गर्ने अभ्यास अनुसार संघका प्रमुख कार्यकारी अधिकृत श्री केशवप्रसाद दाहालले शक्तिशाली व्यवस्थापनका तीन सूत्रहरू “मानव जीवनको उद्देश्य” “काम र मस्तिष्क विज्ञान” तथा “काम र खुशी” बीचको सम्बन्धका बारेमा महत्वपूर्ण अनुशिक्षण गर्नुभएको थियो ।
कार्यक्रममा सहभागी ९ वटै सहकारी संस्थाले कोशिसको सूचकमा आधारित रही सहकारी संस्थाको अवस्था र प्रगति प्रस्तुति गर्नुभएको कार्यक्रममा संघका सदस्य सुदृढिकरण तथा सशक्तिकरण विभाग प्रमुख श्री सुदर्शन दाहालले पृष्ठपोषण सहित सहजीकरण गर्नुभएको थियो ।
कार्यशालाले आगामी तेस्रो WE CAN कार्यशाला कुशेश्वर टोपा भगवती कृषी सहकारी सस्था लि को आयोजनामा मिति २०८३ पौष २७ गते सोमवार आयोजना गर्ने निर्णय गर्दै सम्पन्न गरेको छ ।